नेपालको अध्ययन गर्ने क्रममा उनले वि.सं. २०१४ तिर चुरियाको सुरुङ भएको स्थानबाट उत्तर तिर हेर्दा दुन उपत्यकाभित्र रहेको, सालका रुखहरु रहेको सानो वस्ती हेटौँडा आधुनिक एवम् व्यवस्थित शहर बन्न सक्ने परिकल्पना गरे । त्यही परिकल्पनालाई हेटौँडा नगर पञ्चायतका पहिलो प्रधानपञ्च बासुदेव रिजाल लगायत अन्य प्रधानपञ्च तथा नगर प्रमुखहरुले कार्यान्वयनमा ल्याउने जमर्को गरेको पाइन्छ । हेटौँडाको वस्ती विस्तार र शहरीकरणको अवधारणाका सुत्रधार टोनी हेगनलाई हेटौँडावासीले सम्झना गर्नु उनीप्रतिको हार्दिक श्रद्धाञ्जली हो भन्ने मान्यता स्वरुप उनको नाममा हेटौँडा उपमहानगर पालिकाको सोच तथा डा. टोनी हेगन स्मृति पार्क विकास मञ्चको पहलमा अर्ध कदको सालिक सहित पार्कको निर्माण भइरहेको छ । मञ्चले तयार गरेको गुरु योजनामा भएका निर्माण लगायत अन्य कार्यहरु प्राथमिकता र स्रोत उपलब्धताको आधारमा विभिन्न निकायबाट स्रोत जुटाउँदै क्रमिक रुपमा कार्य गर्दै आएको छ ।


